काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु आज साँझसम्म अवरुद्ध हुने भएका छन्। 

सिटिजन्स बैंकले बैंकको स्विच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको ८ बजेदेखि भदौ ३ गते रातको ८ बजेसम्म कार्डसम्बन्धी सबै सेवा अवरुद्ध हुने जानकारी गराएको हो। उक्त समयमा एटीएमबाट कार्डलेस विथड्रअल र क्रेडिट कार्ड अलर्ट पनि बन्द रहने बैंकले जनाएको छ। 

यो अवधिमा बैंकका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने पनि बैंकले जानकारी गराएको छ। 

यसैगरी माछापुच्छ्रे बैंकले पनि एक सूचना जारी गरी नेप्सको डीआर ड्रिल कार्य भदौ २ गते बेलुका ८ः३० बजेदेखि बेलुका ११ः३० बजेसम्म र भदौ ३ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म हुने भएकोले यो अवधिमा बैंकद्वारा जारी गरिएका कार्डसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध हुने जनाएको छ। 

यो अवधिमा बैंकका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने पनि बैंकले स्पष्ट पारेको छ।