काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको व्यवस्थापनमा नयाँ नेतृत्व आएसँगै बैंकमा गरेको तीव्र सुधार र मेहेनतको प्रतिफल लगानीकर्तालाई वितरण गर्ने गरी लाभांश प्रस्ताव गरिएको छ । 

योसँगै गत वर्ष न्यून लाभांश वितरणका कारण नराम्रो भएको बैंकको छवि लगानीकर्तामा सुधार हुने निश्चित देखिएको छ भने यो बैंक आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक पनि बनेको छ । 

बैंक स्रोतका अनुसार गणेशराज पोखरेललाई बैंकको संचालक समितिले व्यवस्थापनको नेतृत्व दिंदा १३ प्रतिशतसम्मको लाभांश क्षमता बनाउनुपर्ने प्रतिबद्धता मागेको थिए । पोखरेल नेतृत्वको समूहले छोटो समयमै बैंकका प्रमुख वित्तीय सूचकमा तीव्र सुधार गरी संचालक समितिले खोजेको भन्दा २ प्रतिशत बढी लाभांश क्षमता निकालेको हो । 

बैंकको भदौ ९ गते बसेको संचालक समितिको ३०८ औं बैठकले १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 
जसअनुसार सेयरधनीलाई १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ । तर, यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 

एनएफआरएसअनुसार नै तयार वित्तीय विवरणमा रेगुलेटरी रिजर्ब र अन्य दायीत्वहरुतर्फ समेत पर्याप्त व्यवस्थापन गरेकोले बैंकबाट प्रस्ताव गरिएको लाभांश नै केन्द्रीय बैंकबाट पारित हुने देखिन्छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । 

बैंकले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाइसकेको छ ।