काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुले सेयर धितो कर्जा र रियल स्टेट कर्जालाई खुकुलो बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। 

नेपाल राष्ट्रबैंकको सुपरभिजन डिपार्टमेन्टले आज अलफ्ट होटलमा आयोजना गरेको समसामयिक विषयको छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकका सीईओहरुले यस्तो सुझाव दिएका हुन् । 

‘सेयर धितो कर्जा र रियल स्टेट क्षेत्रमा जाने कर्जामा खुकुलो नीति बनाएर अगाडि बढ्दै सुस्त बनेको बजारलाई चलायमान बनाउनुपर्छ ।’ केही सीइओहरुले भने–‘यस विषयमा राष्ट्रबैंक गम्भीर बन्नुपर्छ । सेयर बजार चलायमान नभई अर्थतन्त्रको बाँकी क्षेत्रमा उत्साह आउँदैन ।’ 

उनीहरुले रियल स्टेट कर्जामा समेत राष्ट्रबैंकले अझै खुकुलो नीति तर्जुमा गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । 

छलफलमा बैंकको ब्याजदर घट्ने गरी नीतिगत लचकता अपनाइदिन समेत सीईओहरुले राष्ट्रबैंकसँग आग्रह गरे । अहिले मुद्दति निक्षेप र बचत खाता बीचको अन्तर ५ प्रतिशत रहेको र यही व्यवस्थाका कारण बैंकहरुको कस्ट अफ फण्ड उल्लेख्य घट्न नसकेर आधारदर महङ्गो भएको भन्दै यो व्यवस्था संसोधनको माग समेत उनीहरुले गरेका छन् । 

‘५ प्रतिशत ग्यापवाला व्यवस्थालाई सहज बनाएर अगाडि बढ्नुपर्छ । यसले बैंकहरुको बेस रेट घटाउन मद्दत गर्छ ।’ एक बैंकरले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘बेस रेट घट्नेबित्तिकै बैंकहरुले सस्तो दरमा लोन दिनसक्छन् । यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

छलफलको सुरुवातमा सुपरभिजन डिपार्टमेन्टका प्रमुख देवकुमार ढकालले गत आर्थिक वर्षभरि वाणिज्य बैंकहरुको अडिट गर्दा देखिएका समस्या र कमजोरीको विषयमा २२ बुँदे स्लाइडको प्रस्तुती दिएका थिए । सो क्रममा उनले बैंकहरुले कतिपय नियामकीय व्यवस्थाअनुसार प्रभिजन नगरेको, सब्सिडी लोनको दुरुपयोग गरेको लगायतका समस्या उल्लेख गरेका थिए । 

ढकालको प्रेजेन्टेसनपछि सीइओहरुलाई आफ्ना समस्या तथा सुझावहरु राख्न भन्दै फ्लोर ओपन गरिएको थियो । 

केही सीइओहरुले भने सरकार आन्तरिक ऋण उठाउन आक्रामक भएको र यसले निरन्तरता पाइरहे केही समयपछिदेखि नै तरलताको समस्या फेरि बल्झिने चिन्ता व्यक्त गरेका थिए ।

‘अहिले हेर्दा लिक्वीडिटी सहजजस्तो भए पनि सरकारले नै जसरी आन्तरिक ऋण उठाउन आक्रामक बनिरहेको छ, यसले केही महिनापछि लिक्वीडिटी टाइट हुन्छ । अवस्था फेरि असहज हुनसक्छ ।’ एक सीइओले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘बैंकका रिकभरि इस्यूहरु पनि उस्तै छन् । यी विषयहरुमा भरपर्दो सहजीकरण गरिदिनुपर्छ ।’ 

केहीले ऋणको रिकभरिमा चुनौति बढेको, आफ्ना स्टाफहरु फिल्डमा जाँदा भौतिक आक्रमणमा परेका र दुर्गा प्रसाईंका कार्यकर्ताका कारण ज्यान नै जोखिममा परेको भन्दै सुरक्षा व्यवस्थाका लागि राष्ट्रबैंकले सरकारसँग सहजीकरण गरिदिनुपर्ने माग गरेका थिए । ‘हामीलाई रिकभरिका क्रममा स्थानीय निकायहरुले पनि भनेजस्तो सहयोग गरेनन् ।’ उनीहरुको गुनासो थियो । 

बैंकरहरुले बैंकको नाफा घटेको भन्दै कतिपय नीतिगत रेस्ट्रिक्सन हटाइदिन समेत माग गरेका थिए । एसएमई कर्जा लगायतका विषयमा लचक बनिदिनुपर्ने उनीहरुको माग थियो।

पछिल्लो समय तथ्याङ्कमा लोन बढिरहेको देखिए पनि महङ्गो दर भएका बैंकबाट सस्तो दरका बैंकमा मात्रै सर्ने काम भएको कतिपयले गुनासो गरेका थिए । यहीकारण समेत ब्याजदर पनि बढिरहेको कतिपयको तर्क थियो । यसमा समेत बैंकरहरुले सहजीकरण मागेका थिए । 

कतिपयले अटोलोनमा भएका समस्या, गाडी अक्सनका अप्ठ्यारा व्यवस्था लगायतका विषय पनि उठाएका थिए । 

केही सीइओले बैंकको नाफा ह्वात्तै घटेको भन्दै त्यसलाई बढाउने नीतिगत व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए । ऋणपत्रबाट आउने ब्याजलाई स्प्रेडमा गणना गर्न दिनुपर्ने माग पनि उठेको थियो । 

सीईओहरुको तर्फबाट राष्ट्रिय वाणिज्य बैंकका किरणकुमार श्रेष्ठ, नवील बैंकका ज्ञानेन्द्र ढुंगाना, प्रभू बैंकका अशोक शेरचन, सिटिजन्स बैंकका गणेशराज पोखरेल, कुमारी बैंकका रामचन्द्र खनाल(डिसीईओ), ग्लोबल आइएमई बैंकका सुरेन्द्रराज रेग्मी(सीईओ), प्राइम बैंकका सञ्जिव मानन्धर र स्ट्याण्डर्ड चार्टर्ड बैंकका अनिर्वाण घोष दस्तिदार लगायतले बोलेका थिए । 

देवकुमार ढकालले के भने ? 
प्रेजेन्टेसनको क्रममा सुपरभिजन प्रमुख देवकुमार ढकालले बैंकिङ सिस्टममा समस्या देखिन थालेको, एण्टी मनि लाउण्डरिङको विश्वव्यापी इस्यू उठिरहँदा त्यसमा बैंकहरु गम्भीर नभएका र त्यसको पालना नहुँदा समस्या हुनसक्नेतर्फ सचेत गराएका थिए । उनले कतिपय वाणिज्य बैंकहरुले एनपीए व्यवस्थापनमा ध्यान नै नदिएका दाबी समेत गरे । 

वर्किङ क्यापिटल गाइडलाइन्सको पालना पनि फितलो भएको उल्लेख गर्दै उनले मर्जरमा गएका वाणिज्य बैंकहरुभित्र स्टाफको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता विषय तुरुन्त निरुपण गर्न निर्देशन दिएका थिए । 

उनले रिस्क म्यानेजमेन्टको क्षेत्रमा अझै काम अघि बढाउनुपर्नेमा सो क्रममा जोड दिएका थिए । 

बैंकको बोर्ड र टप म्यानेजमेन्टले सुपरभिजन, कार्यान्वयन, जनताको निक्षेपप्रतिको दायीत्वमा फोकस हुनुपर्नेमा समेत उनको जोड थियो ।

गभर्नरले के भने ?
ढकालको प्रेजेन्टेसन र त्यसपछि ओपन भएको फ्लोरमा आएका बैंकरहरुका सुझावपछि गभर्नर महाप्रसाद अधिकारीले बोलेका थिए । 
सो क्रममा उनले राष्ट्रबैंकले मौद्रिक नीति कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको बताएका थिए । यस्तै, मूल्य स्थिरता, बित्तीय स्थायीत्व र प्रूडेन्ट बैंकिङ सिस्टम स्थापनाको कुरामा केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताए । तर, कतिपय समस्याहरुको समाधान राष्ट्रबैंकको क्षेत्राधिकार भन्दा बाहिर रहेकोले त्यो समस्या समेत बुझिदिन उनले सीईओहरुलाई आग्रह गरे । 

उनले बैंकहरुले राम्रो काम गरिरहेका भन्दै प्रशंसाबाट आफ्नो सम्बोधनको सुरुवात गरेका थिए । ‘राम्रो गर्दागर्दै पनि बढी नै प्रेसर छ, संयमित भएर काम गर्नुपर्ने बेला छ ।’ उनले थपे–‘तपाईहरुले हाम्रा डाइरेक्टिभ्सको फूल कम्प्लायन्स गरेर अगाडि बढ्नुपर्छ । बाँकी तपाईहरुका अप्ठ्याराहरुमा हामी सहजीकरण गरिदिन्छौं ।’