काठमाण्डौ । गत वर्षको खूद नाफाबाट लगानीकर्तालाई सेयर र नगद लाभांशको डबल अफर दिएर मालामाल बनाएको निर्धन उत्थान बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

बुधबार  प्रकाशित कम्पनीको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १४ करोड १३ लाख खूद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा बढेर ३० करोड १३ लाखको उचाईमा पुुगेको हो । 

व्यवसाय बिस्तार गरेका कारण यो बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्ष ४८ करोड ९५ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी अनुपात वृद्धि भई यो वर्ष ७३ करोड १४ लाखको उचाईमा पुुगेको हो । 

दोश्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापूँजी ६० करोड र जगेडा कोषमा ७९ करोड ९१ लाख रुपैयाँ रहेको छ । 

यो बैंकले यो अवधिमा ५ अर्ब २२ करोड निक्षेप संकलन तथा ६ अर्ब ७० करोड सापटी लिएको छ । यो अवधिमा यसले ११ अर्ब ५४ करोड कर्जा परिचालन गरेको छ । गत वर्ष ७ अर्ब ८७ करोड मात्र कर्जा परिचालन गरेको थियो । 

यो बैंकको प्रति सेयर आम्दानीतर्फ पनि कमालको प्रगति हासिल भएको छ । प्रति सेयर आम्दानी अघिल्लो वर्षको तुलनामा  ७८ प्रतिशतले वृद्धि हुँदै १ सय रुपैयाँ ४४ पैसा कायम भएको हो । यो कम्पनीको प्रति सेयर नेटवर्थ २३३ रुपैयाँ २० पैसा, मूल्य आम्दानी अनुपात १८.३९ कायम भएको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांशको डबल अफर दिएको थियो ।