काठमाण्डौ । नेपाल राष्टबैंकको पूँजीवृद्धि योजनाको विरोध गर्दै लामो समयसम्म अटेरी बनेर बसेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३३.३३ प्रतिशत लाभांशसँगै सेयरको अतिरिक्त निश्कासन गर्ने अस्पष्ट योजना सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको बैंकले कति कित्ता र कुन मूल्यमा अतिरिक्त निश्कासन गर्ने भन्ने बिषयमा प्रष्ट पारेको छैन । यसअघि यो बैंकलले अस्पष्ट पूँजीवृद्धि योजना पेश गरेको भन्दै राष्टबैंकका अधिकारी आक्रोशित बनेका थिए । 

बैंकको ३४७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको बुधबार बिहीबार नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

स्ट्याण्डर्ड चार्टर्डको बोर्ड बैठकको यो निर्णय नियामक नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यसैगरी, कात्तिक ३ गते बसेको बोर्ड बैठकले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ(एफपीओ) अर्थात अतिरिक्त निश्कासन समेत गर्ने निर्णय गरेको छ । यो निर्णय समेत सम्बद्ध निकायमा स्वीकृतिका लागि पठाइएको छ । तर कति कित्ता सेयरको एफपीओ हुन लागेको हो र कति मूल्य पर्ने हो भन्ने बिषयमा बैंकले अझैसम्म पनि प्रष्ट पारिसकेको छैन । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७/७३ को अवधिमा १ अर्ब २६ करोड खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । ३३.३३ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । 

एफपीओ हुने सेयरको कित्ता र मूल्य टुंगो लागेपछि त्यसबाट समेत चुक्तापूँजी कतिसम्म पुग्ने भन्ने यकिन हुनेछ । बैंकमा नेपाली सर्वसाधारणको २५ प्रतिशत र स्ट्याण्डर्ड  चार्टर्ड समूहको ७५ प्रतिशत सेयर स्वामित्व छ ।