काठमाण्डौ । स्वाबलम्बन लघुवित्त विकास बैंक लिमीटेडका लगानीकर्ता मालामाल हुने भएका छन् । यो लघुवित्तले आफ्ना सेयरधनीलाई एकसाथ बोनस सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो । 

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर र १९.६८४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

कात्तिक २४ गते बसेको लघुवित्तको बोर्ड बैठकले गरेको यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष स्वावलम्बन लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र १०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

स्वावलम्बन विकास बैंकले आर्थिक वर्ष २०७२/७३ मा ७ करोड ३ लाख खूद नाफा आर्जन गरेको थियो । यो माइक्रो फाइनान्सको चुक्तापूँजी ३१ करोड २३ लाख रहेको छ । ३४ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४१ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।