काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को एउटा कार्यक्रममा सहभागी हुन विदेश जानुअघि नै नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ । 

उच्च स्रोतकाअनुसार राष्ट्रबैंकका एउटा टिमले सेयर धितो कर्जाको क्याप, मार्जिन प्रकृतिको कर्जाको रिस्क वेटेज लगायतका विषयमा गरिरहेको अध्ययन लगभग अन्तिम चरणमा पुगेको छ । अनुसन्धान विभागबाट भइरहेको सो अध्ययनकै आधारमा एकीकृत निर्देशन जारी हुन लागेको हो । 

राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी असोज २० गते आइएमएफको एक कार्यक्रमका लागि मोरक्को जाँदैछन् । उनी अर्थमन्त्री डा. प्रकाशशरण महतसँगै विदेश जान लागेका हुन् । 

गभर्नर अधिकारीले भरसक आफू विदेश जानुअघि नै एकीकृत निर्देशन जारी होस् भन्ने चाहेका छन् । सोहीअनुरुप तयारी गर्न उनले मातहतका निकायलाई निर्देशन समेत दिइसकेका छन् । बीचमा अर्को कुनै घटनाक्रम विकास भएन भने २० गतेअघि नै एकीकृत  निर्देशन जारी हुनेछ । 

गभर्नर अधिकारी मोरक्कोबाट स्वदेश फर्किदा असोज बितिसकेको हुनेछ । उनको इच्छा असोजभित्रै एकीकृत निर्देशन ल्याउने भन्ने हो । यहीकारण विदेश जानुअघि नै एकीकृत निर्देशन आउने सम्भावना बढेको स्रोत बताउँछ । 

‘सम्भवतः शुक्रबार एकीकृत निर्देशन जारी हुनसक्छ ।’–गभर्नर निकट स्रोतले भन्यो ।

सेयर धितो कर्जामा लाग्दै आएको क्याप संसोधन गर्ने विषयमा पछिल्लो समय गभर्नर सकारात्मक छन् । तर, बजारमा हल्ला चलाएजस्तो क्याप नै खारेज गर्ने पक्षमा उनी छैनन् । 

अर्थमन्त्रीका निर्देशनहरुको पालनामा गभर्नर पनि सकारात्मक देखिनुभएको छ । २–३ दिनमै धेरै कुरा बाहिर आउने परिस्थिति बनेको छ ।

पछिल्लो समय प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म, संसदको प्रमुख प्रतिपक्षी दलका नेतादेखि सांसदहरुले समेत सेयर धितो कर्जाको क्याप हटाउनुपर्छ भनी चर्को दवाब सिर्जना गरिरहेका छन् । पूर्व अर्थमन्त्रीदेखि अर्थविदहरुले समेत सेयर बजारलाई चलायमान बनाउने गरी नीतिगत सपोर्ट गर्ने मामलामा राष्ट्रबैंकले ढिला गर्नुहुन्न भनी सुझाव दिइरहेका छन् । 

सेयर बजारमा त आर्थिक विकासको बाधक राष्ट्रबैंक र गभर्नर नै हुन भन्ने भाष्य निर्माण गरिएको छ । यसकारण समेत गभर्नर यी सारा अपजस नबोक्ने पक्षमा छन् । सकेसम्मको नीतिगत लचकता अपनाएर अगाडि बढ्ने उनको योजना छ । 

यही क्रममा उनले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेटेर कुराकानी गरिसकेका छन् । सो क्रममा प्रम प्रचण्डले समेत कतिपय नीतिलाई संसोधन गरेर अगाडि बढ्न समेत गभर्नरलाई निर्देशन दिइसकेका बुझिएको छ । 

आइतबार साँझ नै गभर्नर नेतृत्वको राष्ट्रबैंकका उच्च अधिकारीहरुको एउटा टिमको अर्थमन्त्री डा. प्रकाशशरण महतसँग सिंहदरबारमा २ घण्टा छलफल भएको थियो । समग्र अर्थतन्त्रको विषयमा भएको छलफलमा सेयर बजारलाई चलायमान बनाउनका लागि आवश्यक सहजीकरण गर्नेबारे पनि कुराकानी भएको अर्थमन्त्री निकट स्रोतले बताएको छ । 

अर्थमन्त्री निकट स्रोतले बिजशालासँग भन्यो–‘चाँडै सबै कुरा सहज हुन्छ । बाहिर हल्ला चलेजस्तो अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिएको छैन । पछिल्लो समय झन् झन् राम्रो बन्दै गएको छ । अर्थमन्त्रीका निर्देशनहरुको पालनामा गभर्नर पनि सकारात्मक देखिनुभएको छ । २–३ दिनमै धेरै कुरा बाहिर आउने परिस्थिति बनेको छ ।’ 

सम्बन्धित समाचार :

  1. एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ
  2. १२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा
  3. 'महाप्रसाद अधिकारीले देशको मुख्य वित्तीय सूचकलाई सही बाटोमा लगे'-अमेरिकी पत्रिका