काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो विश्वास दिलाएका हुन्। उनले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए। 

बालुवाटारस्थित राष्ट्र बैंकको मुख्यालयमा भएको भेटवार्तामा इप्पान अध्यक्ष गणेश कार्कीले विद्युत आयोजनाको विकास गर्न लगानीको समस्या आउन नदिन आग्रह गरेका थिए। जबाफमा गभर्नर अधिकारीले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत निर्यात हुने र उक्त परिमाणको विद्युत निर्यात गर्न विकास गर्नुपर्ने जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका हुन्। 

इप्पान अध्यक्ष कार्कीले बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन, २०० मेगावाट भन्दा ठूला आयोजनालाई आधारदरमा १ प्रतिशतमात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकोले उक्त व्यवस्था सबै जलविद्युत आयोजनामा कार्यान्वयन गरिदिन, निर्माणाधिन अवस्थाको ब्याज आम्दानीबाट समेत लाभांश बाँड्न पाउने यसअघिकै व्यवस्थालाई निरन्तरता दिन आग्रह गरे। 

त्यस्तै, नेपाली बैंक वित्तीय संस्थाले ऊर्जामा लगानी गरेको रकमको ब्याज महँगो भएकोले सरकारको जमानतमा अन्तर्राष्ट्रिय बजारबाट ग्रीन बन्ड वा जलवायु बन्डका माध्यमबाट वित्तीय स्रोतको जोहो गरी राष्ट्र बैंकमार्फत स्वच्छ ऊर्जाको क्षेत्रमा पुनरकर्जाको व्यवस्था गरिदिन, अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आवश्यक हेजिङ, लगानी तथा लाभांश र लगानी फिर्तासम्बन्धी नीति नियम सहज, छिटो र पारदर्शी बनाईदिन, सञ्चालनमा रहेका आयोजनाको जोखिम भार ५० प्रतिशत र निर्मााणाधिन आयोजनाको ७५ प्रतिशत कायम गरिदिन र विनाशकारी बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत आयोजनाहरु पुनर्निर्माण तथा निर्माण सम्पन्न गर्न र यी आयोजना रुग्ण हुनबाट बचाउन ब्याज अनुदान तथा पुनरकर्जा, ब्याज पुँजीकरण, कर्जा पुनर्संरचना तथा मोराटोरियम प्रियड थप गर्नेलगायतका आवश्यक नीतिगत व्यवस्था गरिदिन पनि इप्पानले गभर्नर अधिकारीसँग आग्रह गरेको छ।

भेटमा गभर्नर अधिकारीसँगै डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र देवकुमार ढकाललगायत सहभागी थिए। 

इप्पानका तर्फबाट अध्यक्ष कार्कीसँगै पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष रामप्रसाद आचार्य र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सदस्य सुसन कर्माचार्य र कुवेरमणि नेपाल सहभागी थिए।