काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि आफ्ना सेयरधनीलाई 'दशैंखर्च' दिने भएको छ । 

बैंकले 'दशैंखर्च'को साथमा बोनस सेयर समेत उपहारको रुपमा दिंदैछ। 

'दशैंखर्च'को रुपमा दिइन लागेको नगद लाभांश र साथमा बोनस सेयरको प्रस्तावसहितका अजेण्डा पास गर्ने उद्देश्यले बैंकले आगामी कात्तिक २ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

काठमाण्डौको चण्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बैंकले १९ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

असोज ७ गते बसेको सञ्चालक समितिको ५६३ औं बैठकले साधारणसभा आह्वानको निर्णय गरेको एक सूचनामा बताइएको छ । 

साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृति दिने अजेण्डा पेश हुनेछ । 

यस्तै, चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर वितरणको अजेण्डा समेत प्रस्तुत भई पारित गर्ने कार्यतालिका रहेको छ । 

साधारणसभामा आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको १९ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरण समेत पारित गर्ने अजेण्डा रहेका छन् । 

बैंकले साधारणसभा प्रयोजनका लागि असोज २२ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गरिने बताएको छ । यसको अर्थ यो बैंकको साधारणसभामा सहभागी हुन र घोषित लाभांश पाउन असोज २१ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।